वार्षिक प्रतिवेदन -२०१६

Sunday, May 1st, 2016

गैर आवासीय नेपाली संघ,राष्ट्रीय सवमन्य परिषद,अमेरिका

वार्षिक प्रतिवेदन -२०१६

गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिकाको २०१५-२०१७ को निर्वाचन परिणामको पूर्व सन्ध्यामा नै देशमा विध्वंसकारी भूकम्प गएपछि एन आर एन,अमेरिका पीडितहरुको लागि राहत जुटाउन , चिकित्सक टोली एवम् स्वयम् सेवक टोली नेपाल गई सेवा पुर्याउन निरन्तर लागि परी रह्यो । गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रीय समन्वय परिषदको निर्देशनलाई पालना गर्दै २ करोड नेपाली रुपैंया भूकम्प पीडितहरुका लागि राहत दिन सफल रह्यो । १३ जुन,२०१५ मा बाल्टिमोरमा भएको टाउन हल मीटिंगले President’s Advisory Commission on Asian and Pacific Islanders संजिता प्रधान र Town of Indian Head , Maryland का उप मेयर किरण सिटौलालाई विशेष सम्मान गर्यो । सोही मीटिंगमा एन आर एन, अमेरिकाले आफ्नो वार्षिक कार्यक्रम प्रस्तुत गर्यो । भूकम्प पीडीतहरुलाई राहत जुटाउने क्रममा विभिन्न एनआरएन च्याप्टर हरुसँग समन्वय गरी थुप्रै कार्यक्रमहरुको आयोजना गर्दै राहत जुटाउने कार्य सफल रह्यो । देशमा गएको महा भूकम्प कै कारण संयुक्त राज्य अमेरिकाले दिन सक्ने Temporary Protected Status ( TPS ) को लागि हस्ताक्षर अभियानमा पनि एनआरएन अमेरिकाको उत्कृष्ट सहभागिता रहेको कुरा सर्व विदितै छ । TPS स्वीकृत भए लगतै यसबाट सुविधा पाउन सकिने योग्य व्यक्तिहरुलाई सहयोग जुटाउने कार्यमा पनि एनआरएन,अमेरिकाको सहभागिता उत्तिक्कै रह्यो । यसरी TPS सम्बन्धि जनचेतना अभिवृद्धि एवम् TPS फारम भर्नको लागि अमेरिकाव्यापी रुपमा च्याप्टरहरुको संलग्नतामा टाउन हल मिटीड० लगायतका कार्यक्रमहरु संचालन गर्यो । “एक पटकको नेपाली,सँधैको नेपाली ” प्रवासमा बस्ने नेपालीहरुको नागरिकताको निरन्तरताको लागि संविधानमा सुनिश्चित गरिनु पर्ने जोडदार मागका साथ एन आर एन, अमेरिका द्वारा संवन्धित निकायमा लिखित पत्रचार गर्यो साथै संविधान विधेयक मस्यौदामा सुझाव संकलन कार्यक्रम अमेरिका भरी नै संचालन समेत गर्यो । नेपाललाई महा भूकम्पले क्षतविक्षत बनाइ रहेको अवस्थामा भारतद्वारा भएको अघोषित नाका वन्दीको विरोधमा संयुक्त राष्ट्र संघको भवन,न्युयोर्क र राष्ट्रपति भवन (ह्वाइट हाउस ) अगाडि विशाल प्रदर्शन गर्यो साथै संयुक्त राष्ट्र संघका महा सचिव वान्कि मुनलाई ज्ञापन पत्र समेत बुझायो ।

गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिकाले महा-भूकम्पबाट भत्किएका विद्यालयहरुलाई पूनर्निर्माणको निम्ति आर्थिक सहयोग गर्ने क्रममा सिन्धुपाल्चोक जिल्लाको श्री सिपा तीनघरे संस्कृत माध्यमिक विद्यालयलाई $१५०००.०० , सिन्धुपाल्चोक जिल्ला कै श्री सेतीदेवी माध्यमिक विद्यालयलाई $१००००.०० , धादिड० जिल्लाको श्री भानुभक्त निम्न माध्यमिक विद्यालयलाई $५०००.०० , रामेछाप जिल्लाको श्री जल देवी उच्च माध्यमिक विद्यालयलाई $५०००.०० र गोरखा जिल्लाको श्री दुर्लभ उच्च माध्यमिक विद्यालयलाई $५०००.०० सहयोग गरेको छ । त्यस्तै गरेर महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत बैतडी जिल्लाका महिलाहरुको सीपमूलक तालीमको लागि $२०००.०० आर्थिक सहयोग गरेको छ र वि पि चिन्तन प्रतिस्ठानको आयोजनामा संचालित हेल्थ क्याम्पको लागि $२३७०.०० सहयोग गरेको छ । प्रधान मन्त्री राहत कोषमा पूनर्निर्माणको लागि अल्वानी नेपाली समाजबाट उपलब्ध $१४६७४.०० हस्तान्तरण गरिएको छ । त्यस्तै गरेर पारा साईक्लिड० कालिका भण्डारीलाई $५००.०० , क्यान्सर रोगी निश्चित श्रेष्ठलाई ५००.०० , टप टेन हिमाल आरोही संजय पण्डितलाई $२०००.०० र रमेश कक्षपतीको फ्युनरलको लागि $५००.०० सहयोग गरेको छ ।
गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष श्री भवन भट्ट र गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको उपस्थितिमा लस एन्जल्समा एनआरएन,अमेरिकाको क्षेत्रीय कार्यालय स्थापना गरिएको छ । सो क्षेत्रीय कार्यालयको लागि कार्यालय स्पेस एनआरएन,अमेरिकाका सह-सचिव श्रीमती संगिता लम्साल शिवाकोटीले उपलब्ध गराउनु भएको छ । यही मे महिना बाट लागु हुने गरेर न्युयोर्कमा केन्द्रीय कार्यालय स्थापनाको लागि वोर्डबाट निर्णय भै सकेको छ र मे महिनाबाट गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिकाको केन्द्रीय कार्यालय संचालनमा आउनेछ । संस्थालाई आवश्यक सल्लाह र सुझाव प्रदान होस् भन्नाको निम्ति १७ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरिएको छ । संस्थालाई चौतर्फी सम्बोधन गर्न र सेवामा संलग्न रहन विभिन्न टास्क फोर्स र कमिटीहरु स्थापना गर्ने क्रममा Health and Welfare Task Force, Membership Committee Task Force , Bussiness Task Force , Education Committee, Sports Committee, Entrepreneurship Committee, Science, Technology & Economic Policy (STEP) Committee, Census Committee ,Tourism Promotion Task Force , Cultural Committee
स्थापना भै सकेको छ र कमिटी र टास्क फोर्सहरुले आफ्नो कार्य अगाडि बढाइ पनि सकेको छ । त्यस्तै गरेर एनआरएन,अमेरिकाकी महिला संयोजक श्रीमती राधा पौडेलको संयोजकत्वमा केन्द्रीय महिला समिति समेत स्थापना भएको छ । सो समितिको पहलमा अमेरिकाव्यापी अन्तराष्ट्रीय नारी दिवस -२०१६ वृहत रुपमा मनाएको थियो । लस एन्जल्स , टेक्सास र न्युयोर्कमा संचालित अन्तराष्ट्रीय नारी दिवस – २०१६ को कार्यक्रमहरुमा विशिष्ट योगदान पुर्याउने महिलाहरुलाई सम्मान पनि गरेको थियो ।

आर्थिक पारदर्शितालाई चुस्त र दुरुस्त राख्नको लागि एनआरएन,अमेरिकाका कोषाध्यक्ष श्री वेद राज बस्नेतको संयोजकत्वमा समिति निर्माण गरेको छ । अमेरिकामा कृयाशील विभिन्न संघ संस्थाहरुसंग समन्वय गर्दै एनआरएन, अमेरिकाले अन्य थुप्रै कार्यक्रमहरु समेत गर्दै आएको छ । अमेरिका भरी १५ वटा राज्यमा अवस्थित राज्य च्याप्टरहरु समेत अत्यन्त कृयाशील रहेको हुँदा एनआरएन,अमेरिका अझै प्रभावकारी बनेको छ । तसर्थ सम्पूर्ण च्याप्टर अध्यक्ष ज्युहरु, समितिका पदाधिकारी ज्युहरु, केन्द्रीय वोर्डका साथीहरु, सल्लाहकार ज्युहरु,टास्क फोर्सका संयोजक ज्युहरु, अन्तराष्ट्रीय समन्वय परिषदका पदाधिकारी ज्युहरु एवम् एनआरएन,अमेरिकाको समृद्धि चाहानु हुने सम्पूर्ण महानुभाव हरुमा हार्दिक नमन व्यक्त गर्दछौं ।
दुई वर्षको कार्यकालका लागि निर्वाचित हामीले यो गएको एक वर्ष मातृभूमि प्रति केन्द्रित रहेर कार्य गर्यौं भने अबको एक वर्ष हामीले मातृभूमि र कर्मभूमि दुवैको लागि कार्य गर्नेछौं । हामीले अझै गर्नु पर्ने धेरै छ्न् मे महिनाको २२ मा न्युयोर्कमा हुन गै रहेको नेपाल डे परेडलाई वृहत रुपमा सफल बनाउने कार्यमा होस् या अगष्ट महिनाको २७ र २८ मा हुन गै रहेको गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन होस् हामी तयार रहनेछौं ।
कोलोराडोको डेनभरमा बसेको वैठकबाट निर्णय भएका एजेण्डाहरुलाई पूरा गर्न हामी कटिवद्द रहने छौं, साथै कार्य गर्दै जाने क्रममा सकारात्मक वा नकारात्मक प्रतिकृयाहरुलाई संधै आत्मसात गर्ने दिगो प्रण गर्दै सल्लाह,सुझाव,प्रतिकृया एवम् खबरदारीको समेत अपेक्षा गर्दछौं । जय मातृभूमि ! जय एन आर एन !!

तिलक श्रेष्ठ
महा सचिव
गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिका

+ Releated Topics