अन्तरक्रियात्मक कार्यक्रम

Sunday, March 6th, 2016

!cid_E31B32A2-3C61-4721-8D9E-130611AC41FD

नेपाली समाजको आयोजनामा गत २८ फेब्रुवरी २०१६ का दिन लंग आइल्याण्डमा राहदानी वितरण, राहदानी फाराम संकलन तथा कर सम्बन्धी एवं अध्यागमन कानुन सम्बन्धी एक बृहत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रमको सभापतित्व लंग आइल्याण्ड नेपाली समाज न्यु योर्क का अध्यक्ष श्री दुर्गेश कार्कीले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली वाणिज्यदूत श्री कृसु क्षेत्रीले वाणिज्यदूतावास स्थापनापछि पहिलोपल्ट नेपाली समाजको आयोजनामा आयोजित यस कार्यक्रमबाट जनताको घरदैलोमा नै आएर जनताका राहदानी लगायत कन्सुलर सम्बन्धी सेवा उपलब्ध गराउन पाएकोमा आफू अत्यन्त हर्षित भएको विचार व्यक्त गर्दै नेपाल सरकारले जुन पुनीत उद्धेश्य राखेर यस कन्सुलेटको स्थापना गरेको छ त्यस उद्धेश्य परिपूर्तिका लागि कन्सुलेट परिवारको एकल प्रयासबाट मात्र सम्भव नभएकाले स्थानीय संघसंस्था तथा जनताको प्रत्यक्ष सहभागिता हुनु पर्ने औंल्याउनु भएको छ । गैर आवासीय नेपाली संघ लगायतका स्थानीय संघ संस्थाका सहयोगमा वाणिज्यदूतावासले नेपालीहरुको हर दुःखसुखमा पीरमर्कामा साथ दिदैं आएकोमा लंग आइल्याण्डमा भएजस्तै कनेक्टिकट, न्यूजर्सी तथा न्यूयोर्कका विभिन्न स्थानमा समेत स्थानीय संघसंस्थाको आयोजनामा हुने कार्यक्रममा वाणिज्यदूतावास स्वयम् उपस्थित भई घुम्ती शिविरमार्फत नेपाली जनतालाई सेवा प्रदान गर्ने प्रतिवद्धता जनाउनु भयो ।

विशिष्ट अतिथि गैर आवासीय नेपाली संघका अध्यक्ष डा. केशव पौडेलले महावाणिज्यदूतावास र लंग आइल्याण्ड नेपाली समाजको न्यु योर्क को संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रमबाट नेपालीहरुले घरदैलोमै सरकारी सेवा पाएकोमा नेपाली महावाणिज्यदूतावासको खुलेर प्रशंसा गर्नु भयो । विगतमा गैर आवासीय नेपाली महासंघले जुन उद्धेश्यका लागि महावाणिज्यदूतावास स्थापना गर्न अनुरोध गरेको थियो हालको त्यसको सकारात्मक सन्देश यस्तै गतिविधिबाट जाने विचार व्यक्त गर्दै यस्तो पुनीत कामको आयोजना गर्ने लंग आइल्याण्ड समाजको जति प्रशंसा गरे पनि नपुग्ने बताउनु भयो । विशेष अतिथि गैर आवासीय नेपाली महासंघ, अमेरिकाका वरिष्ठ उपाध्यक्ष श्री कृष्ण पोखरेलले कन्सुलेट स्थापना भएको छ महिनाको अवधिमा नै नेपाली जनतामाझ एउटा अलग तर उत्कृष्ट परिचय स्थापना गर्न सकेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै जनताको घरआंगनमा गएर जनताका समस्या समाधान गर्ने नेपाल सरकारका यस्ता एक दर्जन कर्मचारी भए सरकारको काम गर्ने तौरतरिका र स्वरुपमा नै आमुल परिवर्तन हुने विश्वास व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा वाणिज्यदूतावासले हालै सुरु गरेको यन्त्रवाचक राहदानी एमआरपी मा प्रत्यक्ष दर्ता प्रणाली लाइभ इन्रोलमेन्टका बारेमा आम नागरिकलाई प्रस्ट पार्दै उपवाणिज्यदूत श्री प्रवीण भट्टराईले अहिलेको प्रविधिले जनताको घरदैलोमै सेवा प्रदान गर्न सकिने र कम झन्झटिलो रहेकोे विचार व्यक्त गर्नु भएको थियो । अध्यागमन कानुन सम्बन्धमा प्रकाश पार्दै वरिष्ठ अधिवक्ता श्री रमेश श्रेष्ठले नेपालीहरुलाई आइपर्ने जस्तोसुकै कानुनी समस्यालाई हल गर्न आफू तत्पर रहेको औंल्याउंनु भयो । यसै गरी नेपालीहरुले सरकारलाई तिर्नुपर्ने करका सम्बन्धमा श्री ममता जोशीले कर जनताकाको सामाजिक सुरक्षासँग सम्बन्धित विषय भएकाले यस्तो कार्यमा कुनै अप्ठ्यारो भए आफू सोका लागि हरदम तयार रहेको बताउनु भयो । उप वाणिज्यदूत श्री प्रवीण भट्टराई, वरिष्ठ अधिवक्ता श्रेष्ठ र श्री जोशीले जनताले राखेको जिज्ञाशाको जवाफ पनि दिनु भएको थियो । सभापतिको आशनबाट बोल्दै लंग आइल्याण्ड नेपाली समाजका अध्यक्ष श्री दुर्गेश कार्कीले वाणिज्यदूतावास स्वयम् आफ्नो घरगाउँमा आएर नेपाली जनतालाई सेवा गरी सम्पूर्ण लंग आइल्याण्ड समाज लाभाान्वित भएकोमा हार्दिक आभार प्रकट गर्नु भएको थियो ।
उक्त दिन युवाहरुदेखि ७० वर्ष नाघिसकेकी बृद्धा समेत गरी झन्नै डेढ दर्जन नेपाली नागरिकको लाइभ इन्रोलमेन्ट प्रविधिबाट एमआरपी फाराम भरिएको र बनिसकेको राहदानी वितरण पनि गरिएको थियो ।

उक्त कार्यक्रममा लंग आइल्याण्ड नेपाली समाजका उपाध्यक्ष टीका ढकाल, महासचिव श्री परमानन्द खनाल ‘एनआरएन न्यु योर्क युवा संयोजक श्री सुमन हुमागाईं, जनसम्पर्क समिति लंग आइल्याण्डका अध्यक्ष श्री विश्वराज बाँस्तोला, उपाध्यक्ष श्री होम गौतम, NRNA International Coordination Council: Skill, Knowledge and Innovation (SKI) Committee. Co-Chair तथा LINS का कोषाध्यक्ष डा. हरि दहाल, स्थानीय प्राज्ञिक व्यक्तित्व पं. पीपलमणि सिग्देल लगायत अन्य धेरै ठुलो सेवाग्राहीहरुको उपस्थितिमा सम्पन्न यस कार्यक्रमको संयोजन लंग आइल्याण्ड नेपाली समाजले न्यु योर्क नेपाली महावाणिज्यदूतावासको सहकार्यमा सम्पन्न भएको थियो ।

+ Releated Topics